नियम २८ग
समितिको संचालन
(१) अध्यक्षले तोकेको मिति, समय र स्थानमा समितिको बैठक बस्नेछ, त्यस्तो बैठकको गणपुरक संख्या अध्यक्ष समेत गरी कूल सदस्य संख्याको एकतिहाई हुनेछ । गणपूरक संख्या नपुगी बैठक हुन नसकेकोमा अध्यक्ष र सचिवको निर्णय अनुसार गरिनेछ । (२) समितिको बैठक बचत ऋण असूली र ऋण वितरण गर्ने समय भन्दा पहिले अनिवार्य रूपले र पछि आवश्यकतानुसार बस्नेछ । (३) ऋण दिन र असूल गर्न समितिले ऐन नियमको अधीनमा रही आफ्नो कार्यक्रम बनाउनेछ । (४) भूमिसुधार अधिकारीले बैठक बसाल्ने निर्देशन दिएमा समितिको बैठक बस्नेछ । (५) समितिको कूल सदस्य संख्याको एक तिहाई सदस्यले लिखित रूपमा बैठकको माग गरेमा अध्यक्षले वा उपाध्यक्षले बैठक नबोलाएमा भूमिसुधार अधिकारीले आफै बैठक बोलाउने वा सदस्य सचिवलाई बैठक बोलाउन आदेश दिन सक्नेछ । (६) समितिको अनुमति बिना मनासिब माफिकको कारण नभै लगातार ३ पटक सम्म बैठकमा अनुपस्थित हुने अध्यक्ष, उपाध्यक्ष वा सदस्यले अनुपस्थितिको अवधिको लागि यी नियमहरू बमोजिमको पारिश्रमिक पाउने छैन । (७) बचतको हिनामिना ऋणको दुरूपयोग तथा नियम र कार्यक्रमको प्रतिकूल व्यवहार गरेमा सो गर्ने अध्यक्ष, उपाध्यक्ष तथा सदस्यको सट्टा भूमिसुधार अधिकारीले अर्को पदाधिकारी वा सदस्य मनोनीत गर्न सक्नेछ । (८) उपनियम (५) बमोजिम अध्यक्ष, उपाध्यक्ष वा सदस्यहरू अनुपस्थित भएको वितरण सम्बन्धित समितिले यथाशीघ्र भूमिसुधार कार्यालयमा पठाउनु पर्छ र कारण मनासिब नभएको निर्णय भूमिसुधार अधिकारीले गर्नेछ । (९) समितिले आफ्नो कार्यविधि आफै तोक्न सक्नेछ ।